यस अभियान अन्तर्गत डा. वासुदेवकृष्ण शास्त्रीज्यूको संयोजकत्वमा “घर–घर गीता — हाम्रो
अभियान” कार्यक्रमको घोषणा गरिएको छ, जसअनुसार नेपालका विभिन्न विद्यालयहरू, गुरुकुलहरू
र नेपालीभाषी समुदायमा सरल गीता वितरण भइरहेको छ। यो सेवा कार्य हाल नेपालमा मात्र नभई
रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीहरूसम्म पनि फैलिएको छ। गीताप्रेस गोरखपुरले
नेपाली अनुवादमा दिएको सहयोगले यस अभियानलाई अझ प्रभावकारी बनाएको छ। संस्थाको उद्देश्य
सनातन धर्मलाई बालबालिकादेखि युवासम्म रोप्नु हो, त्यसैले बोर्डिङ स्कुल, सामुदायिक विद्यालय
आदिमा पनि पुस्तक वितरणको लक्ष्यका साथ कार्य भइरहेको छ।
गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखाका रूपमा यो संस्था नेपाली सनातन धर्मको
संरक्षणमा थपिएको बलियो आधारशिला हो र यसले भविष्यमा अर्को शताब्दीसम्म
गीता प्रचार कार्यलाई निरन्तरता दिने संकल्प लिएको छ। यस संस्थामा अधिकतम २१
जना ट्रस्टी रहनेछन् भने सहयोगी कार्यदल सदस्यहरू असीमित हुन सक्ने प्रावधान रहेको छ।