भगवान श्री पशुपतिनाथको असीम कृपाले नेपालमा पहिलो पटक गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखाको रूपमा "गीताप्रेस पुस्तक बिक्री केन्द्र नेपाल" स्थापना भएको हो। यस केन्द्रको पूर्ण व्यवस्थापनको जिम्मेवारी श्री जय किसन सारडा ज्यूले लिनु भयो, जसले यस संस्थाको संस्थापक अध्यक्षको रूपमा सेवा प्रारम्भ गर्नुभयो। वि.सं. २०७३ साल जेष्ठ २७ गते (ई.सं. २०१६ जुन ९, गुरुवार)का दिन गीताप्रेस गोरखपुरका ट्रस्टी स्व विष्णु प्रसाद चन्दगोथियाजी बाट पूजा-अर्चना गरी वि.सं. २०७३ साल जेष्ठ २९ गते (ई.सं. २०१६ जुन ११, शनिबार) का दिन, काठमाडौंको माधवराज सुमार्गी स्मृति भवन, वनकालीमा आयोजित विशेष समारोहमा यस केन्द्रको विधिवत समुद्घाटन सम्पन्न भयो। समुद्घाटन समारोहमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव डा. गोविन्द टण्डन, गीताप्रेस गोरखपुरका प्रवन्ध न्यासी श्री विष्णु प्रसाद चाँदगोठिया, श्री देवीदयाल अग्रवाल, श्री नारायण अजितसरिया, बोर्ड सदस्य श्री राम नारायण चाण्डक, गीता प्रेसका महाप्रबन्धक डा. लालमणि तिवारी तथा धर्मनिष्ठ हजारौं श्रद्धालुज्यूहरूको साक्षात्कारमा केन्द्र सञ्चालनमा ल्याइएको हो। गीताप्रेस पुस्तक बिक्री केन्द्र नेपालको स्थापना नेपालको धार्मिक, नैतिक र आध्यात्मिक चेतनाको विकासमा एक ऐतिहासिक पाइला हो, जसले देशभर वैदिक सनातन धर्मका ग्रन्थहरू सरल भाषामा सुलभ मूल्यमा पु-याउने माध्यम तयार गरेको छ।
विगत १० वर्षको अवधिमा गीता प्रेस गोरखपुरको सहयोगमा ६० भन्दा बढी पुस्तकहरू नेपाली भाषामा अनुवाद भइसकेका छन्। अनुवादित ग्रन्थहरूमा रामायण, श्रीमद्भगवद्गीता, श्रीमद्भागवत महापुराण, विष्णुपुराण, शिवपुराण, श्रीदेवीभागवत महापुराण, मत्स्यपुराण, लिंगपुराण तथा षड्दर्शनसँग सम्बन्धित अनेकौं पुस्तकहरू नेपाली भाषामा उपलब्ध छन्। भविष्यमा पनि नेपाली अनुवाद कार्यलाई निरन्तरता दिइनेछ।