वि.सं. २०७२ साल बैशाख १२ गते नेपालमा आएको विनाशकारी महाभूकम्पको बेला भारतको सूरत, गुजरातस्थित मानव सेवा आश्रमका उपाध्यक्ष श्री रामनारायण चाण्डकज्यूले मानवीय सेवाको प्रेरणाबाट माहेश्वरी समाज काठमाडौंका तत्कालीन निवर्तमान अध्यक्ष श्री जयकिसन सारडामार्फत २०० भूकम्प पीडित घरहरूको पुनर्निर्माणको जिम्मेवारी लिनुभएको थियो। सिन्धुपाल्चोकका गाउँहरूमा पुनर्निर्माण भ्रमणको क्रममा विभिन्न संघ–संस्थाहरूले राहत वितरणसँगै पश्चिमी धर्म प्रचार गरिरहेको दृश्यले उहाँलाई विचलित बनायो। यहींबाट नेपालको मौलिक वैदिक सनातन धर्मको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारको गहिरो आवश्यकता महसुस गर्दै नेपालमै गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखाको रूपमा "गीताप्रेस नेपाल" को स्थापना गर्ने संकल्प गर्नुभयो। यस उद्देश्य अनुरूप पशुपतिनाथ क्षेत्रअन्तर्गत भुवनेश्वरी मन्दिर नजिकै पहिलो कार्यालय स्थापना गरी ई.सं. २०१५ देखि सत्साहित्य विक्री र वितरण कार्य शुभारम्भ गरियो। ई.सं. २०१६ मा "गीताप्रेस पुस्तक बिक्री केन्द्र नेपाल" को नाममा विधिवत रूपमा दर्ता भयो। यस संस्थाको उद्देश्य नेपालका दुर्गम भू–भागमा गीता, रामायण, पुराण, इत्यादी सत्साहित्यको प्रचारप्रसार गरी वैदिक संस्कारयुक्त सुसंस्कृत समाजको निर्माण गर्नु, युवापुस्तामा नैतिक चेतना फैलाउनु र सनातन धर्मको मूल मर्मको उज्यालो फैलाउनु हो। गीताप्रेस नेपाल कुनै व्यावसायिक संस्था नभई निःस्वार्थ सेवाभाव, धर्म, संस्कार र आध्यात्मिक चेतनाको वाहकको रूपमा समर्पित संस्था हो।